काठमाडौं, १७ भदौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गरेपछि उनले माओवादीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
क्रान्तिकारी विचारको आधारमा निर्माण भएको एकीकृत समाजवादी माओवादी केन्द्रमा विलीन हुने भ्रम नफैलाउन उनले आग्रह गरे । ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु’ अध्यक्ष नेपालले भने, ‘यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’
अध्यक्ष नेपालले २३ भदौअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको समेत बताए । मन्त्रिपरिषद विस्तारका विषयमा २२÷२३ गतेसम्म सम्भावना नभएको भन्दै उनले भने, ‘त्यसका लागि हामी उपयुक्त समयमा छलफल गर्नेछौँ ।’
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न आफ्ना नेताहरुलाई आग्रह गरे । उनले केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेका बताउँदै त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।