सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

दाङ, १७ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको जानकारी दिए ।

गएको साउन २५ गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न भनिएको हो । गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको ज्यान गएपछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो ।

नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्नेक्रममा खोलामा आएको बाढीले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा प्रहरीले फेला उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ ।

यस्तै, कारमा सवार घोराही १३ निवासी वर्ष ३२ की सुशीला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया