कश्मीरलाई भारतबाट अलग राख्नुपर्ने अभियान चलाएका चर्चित नेता गिलानीको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

काठमाडौं, १७ भदौ । कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानी ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा निधन भएको छ ।
तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहेका थिए । सन् १९८९ मा सशस्त्र द्वन्द्व पछि उनीसहित चार जमात नेताले राजीनामा दिएका थिए ।
उनले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । यही कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो ।
उनको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया