अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक पर्छ : प्रम देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ भाद्र

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् ।
महिला उद्यमी महासङ्घको पाँचांै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
‘सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ’, प्रधानमन्त्री देउवाले भने । उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे ।

प्रतिक्रिया