
काठमाडौ., १६ भदौ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालबिरुद्धको खेल जित्न कठिन हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान क्षेत्रीले नेपालसँग खेल्नु सँधै कठिन हुने बताएका हुन् । नेपालले बाहिर जस्तोसुकै खेलेपनि घरेलु मैदानमा भने राम्रो प्रदर्शन गर्ने भएकाले पनि भोलिको खेलमा जित निकाल्न कठिन हुने उनको भनाइ छ ।
भारतका प्रशिक्षक इगोर स्टिमाकले खेलका लागि खेलाडी फिट र तयार रहेको बताएका छन् । साथै भारी वर्षा हुँदैन भन्ने पनि आसा गरेको बताए । उनले भने ‘हामीसँग एटीके मोहन बगान र बेंगलुरु एफसीका केही खेलाडी छैनन् । उनीहरु एएफसी कपका खेल खेलिरहेका छन् । त्यसैले हाम्रा लागि कठिन हुनेछ ।’
मैले टिममा रहेका खेलाडीबाट आसा गरेको छु । उनीहरूले आफ्नो पोजिसनका लागि फाइट गर्नेछन् । नेपालको बारेमा विश्लेषण गरेका छौं । नेपालले विश्वकप छनोटमा राम्रो खेलेको थियो । युवा खेलाडीलाई मौका दिइएको छ, उनले भने ।
यस्तै, नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने नभएको बताए । उनले अघि भने, ‘तर हामीले दुवै खेल जित्नैपर्छ । फिफा ¥याङ्किङका लागि जित्न जरुरी छ ।’ यो दुई खेल जित्न सक्ने हो भने नेपालको ¥याङ्किङ ७÷१० स्थान माथि जानसक्ने उनले बताए ।
नेपालविरुद्ध खेल्न भारतलाई जति कठिन छ, नेपाललाई पनि जित्न त्यही नै कठिन भएको उनले बताए । विगतको रेकर्ड पनि भारतको पक्षमा रहेको उल्लेख गर्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘तर हामी पनि नयाँ गोर्खाली हौं, इतिहास र विपक्षी नहेरी रिजल्टका लागि खेल्छौं ।’
कप्तान किरण चेम्जोङले पनि भारतविरुद्ध खेल्न सहज नहुने बताए । तर दुई महिनादेखि आफूहरुले तयारी गरेको भन्दै उनले भने, ‘शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि हामी बलियो छौं ।’ नेपाल र भारतबीच भोलि बिहीबार र आइतबार गरी दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । दशरथ रंगशालामा हुने दुवै खेल साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ ।
