इजरायलमा आवेदन स्वीकृत भएका कामदारले भदौ २८ मा परीक्षा दिन पाउने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र

काठमाडौं, १५ भदौ । इजरायलमा (केयर गिभर) पदमा जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका छन् ।
आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूमा दिउँसो १ बजेदेखि अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायलमा १ हजार कामदारको माग आएकोमा ७० प्रतिशत महिला र ३० पुरुषलाई लैजाने बताइएको छ । गत वर्षको असोज महिनामा इजरायल र नेपाल सरकारबीच केयर गिभर पदमा नेपाली कामदार लैजाने गरी सम्झौता भएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो । जसको आवेदन भर्ने समय केही दिन अघि मात्रै सकिएको थियो ।

प्रतिक्रिया