
काठमाडौं, १४ भदौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्लीमा उपचारपछि सोमबार स्वदेश फर्किएका छन् । सफल मिर्गौला प्रत्यारोपणपछि उनी काठमाडौं फर्किएका हुन् ।
आउँदाआउँदै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिए । उनले आफूलाई नाताले छोरी पर्ने मेलिना चित्रकारले मिर्गौैला उपलब्ध गराएको समेत खुलासा गरे ।
‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’ मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको उनले बताए ।
साथै, अबका दिनमा पार्टी नेतृत्वको जिम्मेवार पदमा नबस्ने उनको भनाइ छ । उमेरले आफू ७० वर्ष पुगिसकेको बताउँदै आगामी दिनमा लोकतन्त्र, संविधानको रक्षा, वैज्ञानिक नेपाली मोडलको समाजवादप्रति आफू समर्पित हुने जनाए । उनले भने, ‘मलाई अब जिम्मेवार पदमा बस्नु छैन किनकि म ७० वर्ष पुगिसकेँ । तैपनि पार्टी मलाई जे जिम्मेवारी दिन्छ, त्यसका लागि ठाउँ राखेको छु ।’
बरिष्ठ नेता खनाललाई लिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।
