महानगरमा फोहोर : मेयर शाक्यद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण, कार्यालयअगाडि फोहोर थुपारेर प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७८, १४ भाद्र

काठमाडौं, १४ भदौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएकै दिन सोमबार युथ कांग्रेस नेपालले सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको छ । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

सोमबार प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । सोक्रममा प्रधानमन्त्री देउवाले जतिसक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेपछि त्यस्तो आश्वासन दिएका हुन् ।

‘सिसडोलसम्म फोहोर बोकेका गाडी पु¥याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह ग¥यौँ’ उनले भने, ‘त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो ।’

तर, सोमबार नै तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै त्यसको विरोधमा युथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको छ । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् । जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।

प्रतिक्रिया