लुइजियानामा आइडा आँधी : ७ लाख मानिस विद्युत सेवाबाट बञ्चित , तटीय क्षेत्र डुबानमा
अखबार टुडे
प्रकाशित:
२०७८, १४ भाद्र

लुइजियाना, १४ भदौ (एजेन्सी) । अमेरिकाको दक्षिणी राज्य लुइजियानामा आइडा नामक आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ ।
त्यसले तटीय क्षेत्र डुबाएको छ भने भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ। प्रतिघण्टा १ सय ५० माइलको वेगले आएको आँधीले राज्यको मुख्य सहर न्यू ओर्लिन्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।
यस्तै, न्यू ओर्लिन्स सहरमा बाढी रोक्न बनाइएको विशेष संरचनाले आँधीले ल्याएको बाढी रोक्न सफल भएको खबरमा उल्लेख छ । सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि बाढी रोक्न त्यहाँ विशेष संरचना बनाइएको थियो ।
केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी आउनु अघिनै त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका थिए । आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
सन् २००५मा न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका थिए ।

प्रतिक्रिया