काबुलमा फेरि अर्को विस्फोट
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काबुल, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । आइतबारको विस्फोटन हुनु अगाडि पनि दोस्रो विस्फोटन हुनसक्ने चेतावनी दिएका थिए ।

विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।

काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन् । अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन् ।

प्रतिक्रिया