कतरामा आप्रवासीले अकालमा ज्यान गुमाउदै, मृत्यूबारे पर्याप्त अनुसन्धान नगरेको एम्नेस्टीको ठहर
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १२ भदौ । कतारमा सुरक्षित काम गर्ने वातावरणको अभावका कारण आप्रवासीहरुले अकालमा ज्यान गुमाउनु परेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । तर कतारी अधिकारीहरुले भने मृत्यूबारे अनुसन्धान नै नगरेको पाइएको एम्नेस्टीले जनाएको छ ।

कतारले पर्याप्त अनुसन्धान नै नगरी अचानक मृत्युलाई प्राकृतिक कारण वा अस्पष्ट रुपमा परिभाषा दिने गरेको एमनेस्टीको प्रतिवेदन ‘इन द प्राइम अफ दियर लाइभ्स’ले देखाएको छ । पिडित परिवारलाई क्षतिपूर्ति नदिनका लागि कतारी अधिकारीहरुले मृत्युको स्पष्ट कारण नखुलाएको एम्नेस्टीको ठहर छ ।

एम्नेस्टी इन्टरनेशनलले कतारमा रोजगारीका क्रममा अचानक ज्यान गुमाएका नेपाल र बंगलादेशका नागरिकको मृत्यूलाई विस्तृत अध्ययन गरेका थिए । एम्नेस्टीले ६ जना आप्रवासी श्रमिकहरु निर्माण कार्यमा संलग्न चार, एक जना सुरक्षाकर्मी र एकजना ट्रक चालकको मृत्यूलाई विस्तृत अध्ययन गर्दा कसैलाई पनि स्वास्थ्य समस्या थिएन । कतार जानुअघि सबैले अनिवार्य स्वास्थ्य परीक्षण गराएका थिए ।

४० वर्षिय मन्जुर खाँ पठान कतारस्थित ट्रक चालकका रुपमा काम गर्थे । उनी दैनिक १२ देखि १३ घण्टासम्म काममा खट्थे । केही समयदेखि उनले आफ्नो क्याबिनमा एयर कन्डिस्निङ खराब भएको गुनासो पनि गरेका थिए । ९ फेब्रुअरी २०२१ मा उनी कोठामा अचानक ढले । एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।

३२ वर्षिय सुजन मियाँ पनि मरुभूमिको एउटा परियोजनामा पाइप फिटरको काम गर्थे । उनका सहकर्मीहरुले उनलाई ९ सेप्टेम्बर २०२० को बिहान मृत अवस्थामा फेला पारे । मियाँको मृत्यको चार दिन अघि त्यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको पाइएको थियो । त्यस्तै बेलुका सकुशल सुतेका ३४ वर्षिय तुलबहादुर घर्ती बिहान मृत भेटिए । कतारस्थित निर्माण क्षेत्रमा काम गर्ने उनी २२ फेब्रुअरी २०२० का दिन ३९ डिग्री सेल्सियससम्मको तापक्रममा १० घण्टा काममा खटेका थिए । सोही मुलुकमा विमानस्थलमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका ३४ वर्षिय यमबहादुर रानाले कामकै क्रममा ज्यान गुमाए । उनी लामो समय घाममा खट्नुपर्थ्यो ।

अध्याधिक श्रम तथा कतारको उच्च तापक्रमका कारण श्रमिकहरु जोखिममा परेको अध्ययनमा उल्लेख छ । इम्नेस्टी इन्टरनेशनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरुको मृत्यु प्रमाणपत्रको अध्ययन गरेको थियो । प्रमाणपत्रमा मृत्युको कारण अज्ञात तथा श्वासप्रश्वास गर्दा विफलता लेखिएको उल्लेख छ । यस्तै, गार्जियनले गरेको एक अध्ययनले समेत सन् २०१० देखि २०२०को बीचमा नेपाली, भारतीय र बंगलादेशी ६९ प्रतिशत श्रमिकको मृत्युको कारण प्राकृतिक देखाइएको छ ।

प्रतिक्रिया