देउवा, दाहाल र नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेकोे हो ।

माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका काँग्रेस सभापति देउवाले गत असार २९ गते पदको शपथ लिएकै दिन काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिएको थियो । त्यसपछि देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया