एनआरएनएलाई लाग्यो चुनाव, आकाँक्षीहरु धमाधम उम्मेदवारी घोषणा गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १३ भदाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित उम्मेदवारले प्रचारप्रसार थालेका हुन् ।

हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित उनले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने राससलाई जानकारी दिए ।

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ युकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएका उहाँ त्यसअघि गैरआवासीय नेपाली संघ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए ।

त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहनुभएको थियो । एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उनको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् ।
त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आएका छन् ।

सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएका उहाँले अहिले हस्तकलाको व्यवसायमा आवद्ध छन् ।

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया