काबुलमा फेरि अर्को आतंकवादी हमला हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १३ भदौं । अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अर्को आतंकवादी हमला हुन सक्ने भन्दै अमेरिकाले सर्तक गराएको छ । राष्ट्रपति जो बाइडेनले शनिबार काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने आफूले सूचना पाएको बताएका थिए ।

बिबिसीका अनुसार राष्ट्रपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको थियो । बाइडेनले अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनालाई निर्देशन दिएको बताएका छन् ।

आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको छ । समाचार संस्था एपीका अनुसार अमेरिकी दूतावासको उक्त चेतावनीपछि अहिले काबुल विमानस्थलको गेटबाहिर भिड कम हुँदै गएको छ ।

यसअघि बिहीबार साँझ काबुल विमानस्थलबाहिर भएका दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो । बिहीबार साँझ भएका बिस्फोटको जिम्मा मुस्लिम अतिवादी संगठन आइएसआइएसकेले लिएको छ ।

इस्लामिक स्टेट भनिने अतिवादी समूह आइएसआइएस इराक र सिरियामा सक्रिय छ । आइएसआइएसके त्यसैको एउटा शाखा हो । यसको पूरा नाम इस्लामिक स्टेट खोरासान प्रोभिन्स हो। यसले अफगानिस्तान र पाकिस्तानमा आफ्ना गतिविधि गर्छ ।

काबुल आक्रमणको बदलामा अमेरिकाले शुक्रबार आइएसआइएसकेको अखडामा ड्रोन आक्रमण गरेको थियो । उक्त ड्रोन आक्रमणमा विमानस्थलमा आक्रमण गर्ने योजना बनाउने मुख्य योजनाकारको मृत्यु भएको अमेरिकाको दाबी गरेको छ । राष्ट्रपति बाइडेनले आइएसआइएसकेविरूद्ध शुक्रबारको आक्रमण अन्तिम नभएको बताएका छन् ।

प्रतिक्रिया