देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न मोदीलाई तालिबानको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १२ भाद्र

काबुल, १२ भदौ (एजेन्सी) । तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए । उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन् ।

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको तालिबानले विरोध गरेका हुन् । ‘आतंकको भरमा साम्राज्य जमाउन खोज्ने सोच जसको छ, यो केही समयका लागि सम्भव होला तर त्यसको स्थायित्व र त्यस्तो शासन स्थायी हुनै सक्दैन, उसले धेरै दिन नागरिकलाई दबाएर राख्न सक्दैन,’ उनले भनेका थिए । तर उनले तालिबानको नाम भने लिएका थिएनन् ।

तालिबान नेता दिलावरले पाकिस्तान आफ्नो छिमेकी र मित्र भएको उल्लेख गरेको पनि बिबिसीले जनाएको छ । त्यस क्रममा उनले आफ्ना देशका ३० लाखभन्दा धेरै अफगान शरणार्थीलाई आश्रय दिएकोमा पाकिस्तानलाई धन्यवाद दिएका छन् । सबै देशसँग पारस्परिक सम्मानमा आधारित शान्तिपूर्ण सम्बन्ध चाहेको नेता दिलावारले जनाएका छन् ।

प्रतिक्रिया