दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, १२ भाद्र

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनपछि आफ्नो साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् ।

शनिबार आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको बताए । नेपालले आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको बताएका छन् ।

अध्यक्ष नेपालले भने ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु’, आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट अहिल्यै र केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु । यो विचार, सिद्धान्त र मूल्य–मान्यताको लडाइँ हो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गरेका छन् । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गरेका छन् ।

प्रतिक्रिया