काठमाडौं, १२ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शनिबार सुरु भएको योङ कम्युनिष्ट लीग (वाइसिएल) राष्ट्रिय भेलालाई सबोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै यस्तो धाराणा राखेका हुन् । आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो ।
समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा एमालेसँग एकता गरे पनि नेतृत्वले धोका दिएको बताउँदै उनले भने, ‘यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।’ ‘अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ’ अध्यक्ष प्रचण्डको भनाइ थियो ।
यसैक्रममा उनले प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको बताए । उनले भने, ‘यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।’
आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उनले भने, ‘यो ४० वर्षको समीक्षा मैले गरेको छु ।’ भेलामा अर्थमन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताए । कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई उनले निर्देशन दिए ।