प्रदेश १ का १० सांसदले समाजवादी दल रोजेको पत्र आयोगलाई बुझाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १२ भाद्र

विराटनगर, १२ भदौ । दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् । उनीहरुले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो सामुहिक निर्णय गरेका हुन् ।

१० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो ।

समाजवादीका नेता राजेन्द्रकुमार राईले सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको बताए । एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पु¥याउने उनको दाबी छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि नियमावली बनाएर नपठाएकाले सनाखत गर्न ढिलाइ भएको बताए ।

बैठकमा सहभागी अर्को एक सांसदले भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेको बताए । उनले भने, ‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो । ’ उनले अहिले बनेको सरकार संविधानविपरीत रहेको बताउँदै दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार आफूहरुलाई मान्य नहुने बताए ।

बैठकमा सबै सांसदहरुले आ९आफ्नो तर्फबाट रिपोर्टिङ गरेका थिए । सबैले नयाँ पार्टीलाई मजबुद बनाएर लैजानुपर्ने बताउँदै दोस्रो पुस्ता भनिएका नेताहरुको आलोचना गरेका थिए ।

प्रतिक्रिया