काबुल विष्फोट : नेपाली सुरक्षित, नेपाल फर्काउन कुटनीतिक पहल हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौं । नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिक बिहीबार साँझ भएको आत्मघाती विस्फोटनबाट सुरक्षित रहेका छन् । उनीहरु विष्फोटपछि सुरक्षित स्थानमा बसिरहेको त्यहाँका अधिकारीहरूले बताएका हुन् ।

आफगानिस्तान समेत हेर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक–दुई दिनभित्रै ती नेपाली नागरिकहरू समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको बिबिसी नेपालीलाई जानकारी दिएका छन् । हालसम्म अफगानिस्तानबाट करिब ८०० जना नेपाली स्वदेश फर्किएका छन् । त्यहाँ झन्डै १५ सय नेपाली रहेको तथ्यांक सरकारसँग छ ।

सरकारका अनुसार उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीजस्ता गन्तव्यमा हाल रहेका भनिएका नेपालीको स्पष्ट संख्या थाहा हुन नसकेको जनाएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन रामप्रसाद सुवेदीले विमानस्थलमा बिहीवार स्वदेश फर्कन जम्मा भएका ४२ जना अहिले अर्को सुरक्षित स्थानमा सँगसँगै बसिरहेको बीबीसीलाई जानकारी दिएका छन् ।

उनले बिबिसीसँग भनेका छन्, ‘उहाँहरू नेपाल आउनका लागि विमानस्थलसम्म पुग्नुभएको थियो तर त्यो सम्भव भएन । त्यहाँबाट फेरि फर्किएर एउटा गुरुद्वारामा हुनुहुन्छ । खानपिन गर्ने, बस्ने सबै व्यवस्था छ र सुरक्षित हुनुहुन्छ ।’ उनले बिहीवार काबुल विमानस्थलमा भएको विस्फोटनलाई आफूहरूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै सकेसम्म चाँडो उद्धार प्रक्रिया अघि बढाउन प्रयास गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया