काबुल विमानस्थल बाहिर आत्मघाती विष्फोट, कम्तीमा १३ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काबुल, १० भदौं (एजेन्सी) । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा बिहीबार साँझ अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर दुई शक्तिशाली बम विष्फोट अमेरिकी सेनाले पुष्टि गरेको छ । सो विष्फोटमा कम्तिमा १३ जना मारिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थलको मुख्य द्वारमा पहिलो आत्मघाती विष्फोट भएको थियो । दोस्रो विष्फोट बारोन होटलनजिक भएको थियो जहाँबाट अफगानिस्तानबाट बेलायत आउन चाहने नागरिकहरुको प्रक्रिया मिलाइँदै आएको छ ।

पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो । प्रारम्भिक रिपोर्टहरुमा तीन अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकाले घटनामा आतंकवादी संगठन आइएसको हात रहेको जनाएको छ ।

तालिवानका एक प्रवक्ताले रोयटर्ससँग आक्रमणमा कम्तिमा १३ जाना मारिएिको बताए, जसमा बच्चाहरु पनि छन् । सार्वजनिक भएका तस्बिरहरुमा घाइते व्यक्तिहरुलाई उपचारका लागि दौडाउँदै गरेको देखिन्छ । मृतकको संख्या बड्न सक्ने बताइएको छ ।

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएको केही दिनमै ठूलो आतंकवादी आक्रमण भएको हो । यसैबीच पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, ‘काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला बिष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।’

अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका थिए ।

प्रतिक्रिया