तुइन प्रकरण : महाकालीमा बेपता जयसिंहको परिवारलाई सरकारले १० लाख सहयोग गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौं । सरकारले दार्चुलाको महाकाली नदी तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत १५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । यसैबीच बिहीबार बसेको संसदको राज्य व्यवस्था समितिले तुइन घटनाबारे छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरेर कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया