
- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालद्वारा आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा
- अध्यक्ष नेपालले भने, ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौँ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’
- एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप
- नयाँ क्रान्तिकारी धारमा समाहित हुन कार्यकर्तालाई आग्रह
काठमाडौं, १० भदौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । यससघि सरकारमा सहभागी हुने बताइँदै आएपनि औपचारिक घोषणा गरेका थिएन ।
नेकपा एमालेबाट औपचारिक रुपमा विभाजित भइ दल दर्तापछि बिहीबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताए । उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने समेत बताए ।
अध्यक्ष नेपालले भने, ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौँ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ ।’ उनले किसानलाई जग्गाको मालिक बनाउने बताउँदै भने, ‘सुकुम्वासी समस्या समाधान गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिनेछौँ ।’
अध्यक्ष नेपालले एमालेबाट अलगिएर केपी शर्मा ओलीले कब्जा गरेको बार्टीबाट आफूहरु मुक्त भएको पनि बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको समेत बताएका हुन् ।
उनले भने, ‘हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको छन् । उनीहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’ अध्यक्ष नेपालले इतिहासमा यस्तो धेरै भएको बताउँदै भने, ‘समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ ।’
अध्यक्ष नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन समेत आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाउँदै उनले भने, ‘दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको छ ।’ दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन उनले आग्रह गरे ।