विभाजनपछि पहिलो पटक आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौं । नेकपा (एमाले)बाट नेता माधवकुमार नेपाल पक्ष विभाजित भइ नयाँ पार्टी दर्ता गरेपछि आज बिहीबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुने भएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको छ ।

बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ ।

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

प्रतिक्रिया