थपियो दुई दल : निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी र लोसपा दर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र
  • नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य संख्याको २७ प्रतिशत हो ।
  • जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।

काठमाडौं, ९ भदौं । नेपालमा नयाँ दुई राजनीतिक दल थपिएको छ । बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता दिएसँगै दुई दल थपिएको हो ।

नेकपा एमालेबाट विभाजित भएका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पु¥याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो । त्यस्तै, जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य संख्याको २७ प्रतिशत हो ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् ।

माधवद्वारा धन्यवाद

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बदनाम एवं समाप्त पार्ने र सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएको र बुधबार संघीय संसदका ३४ जना सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएको बताएका छन् ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमा भनेका छन्, ‘अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद सतिसाल जस्तै उभिँदै विद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

प्रतिक्रिया