छानबिन समितिको प्रतिवेदन : प्रशिक्षक अलमुताइरीले व्यक्तिगत बानी सुधार गर्नुपर्छ
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र

काठमाडौं, ९ भदौ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ‘अब्दुल्लाह अल्मुताइरी’ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष ‘पंकजविक्रम नेम्वाङ’ बीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधवार ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बुझाएको छ ।

प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताए ।

एता समितिको प्रतिवेदनप्रति राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने असन्तुष्टि प्रकट गरेका छन् । बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ नभएको र व्यहोरा सुधार गर्नुपर्ने सुझाव दिएपछि अल्मुताइरीले असन्तुष्ट जनाउँदै नेपाल छाड्ने संकेत गरेका हुन् । उनले फेसबुकमा ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’ भनेर लेखेका छन । यसको अर्थ म बाहिरिए, राजनीति गर्नेलाई गर्न देउ भनेर उल्लेख गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया