युएईमा तीन नेपालीलाई बक्सिङमा कास्य पदक
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र

काठमाडौं, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई)मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ ।
छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका छन् । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए । यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए ।
नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया