अगस्ट ३१को ‘डेडलाइन’ बढाइने छैन, नागरिकलाई विमानस्थल जान नदिइने : तालिबान
अखबार टुडे
प्रकाशित:
२०७८, ८ भाद्र

काठमाडौं, ८ भदौ (एजेन्सी) । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले काबुलबाट विदेशी नागरिक बाहिर जाने मिति थप गर्न नसकिने बताएका छन् । अहिले तालिबानले विदेशी नागरिकलाई काबुलबाट बाहिर जान यही अगस्ट ३१ सम्मको समयसीमा (डेडलाइन) दिएको छ ।

तालिबान प्रवक्ताले भने ‘अगस्ट ३१ को डेडलाइन बढ्छ भन्ने मलाई लाग्दैन ।’ विदेशी नागरिकलाई निर्धारित मिति समाप्त हुनुभन्दा अघि नै काबुलबाट निस्किन पर्याप्त समय भएको प्रवक्ता मुजाहिदले बताएका छन् ।

अमेरिका र सहयोगी देशहरूले भने अगस्ट ३१ सम्म सबै मानिसलाई काबुल बाहिर लैजान कठिन हुने बताएका छन् । जी–७ देशको मङ्गलवार हुन लागेको बैठकमा पनि यसबारेमा कुराकानी हुनेछ । बैठक बस्नुअघि तालिबानले आफ्नो धारणा बताएको हो ।

तालिबानले अफगानिस्तानका कुनै पनि नागरिक देश छाडेर बाहिर जाओस् भन्ने नचाहेको प्रवक्ता मुजाहिदको भनाइ छ । अमेरिका र सहयोगी देशलाई सहयोग गर्ने अफगानी नागरिक तालिबानले काबुल नियन्त्रणमा लिएपछि देश छाडेर जान चाहिरहेका छन् । नौ दिनअघि तालिबानले काबुल नियन्त्रणमा लिएयता अहिलेसम्म विदेशी र अफगान नागरिक गरी झन्डै ५० हजार जना काबुल विमानस्थलबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया