निर्माता/निर्देशक प्रवलको कथा : उनी किन बनाउँछन् बेलायतमा नेपाली फिल्म ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ भाद्र

काठमाडौं, ८ भदौं । भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ यो भनाइ प्रवल सोनम घिसिङ (प्रेम लामा)को जीवनमा समेत चरितार्थ छ । सानैदेखि नेपाली कला, साहित्य, संस्कृति र संस्कारप्रति झुकाव भएका प्रवल करिब तीन दशकअघि बेलायत पुगे । तर, उनलाई नेपालीपनले छोडेन । लाग्यो, ‘विदेशमा बसेर पनि नेपाली कला, संस्कृति र रहन–सहनलाई पस्किन सकिन्छ ।’ त्यही सोच र मान्यताले उनी आज नेपाली फिल्म निर्माताका रुपमा बेलायतमा चिनिएका छन् ।

सन् १९९१ मा केयर इम्प्लोएमेन्टका रुपमा बेलायत पुगेका प्रवलले त्यहाँ रहेरपनि चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । जसमार्फत नेपाली कला तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेका छन् ।

नेपालमा हुँदा उनी साहित्यप्रति औधी रुचि राख्थे । रुचि पूरा गर्न गीत तथा कविता समेत कोर्थे । तर, त्यतिखेरै बेलायतको यात्रा तय गरेका प्रवल भन्छन्, ‘नेपालमा भएको साहित्यकार बन्थेँ होला । साहित्यकार नभए कला क्षेत्रमै पनि हुन्थेँ ।’

बेलायत पुगेपछि नेपाली कला र संस्कृतिप्रति अझ धेरै लगाव बढेको उनको अनुभव छ । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा आर्कषण बढ्नुको मुख्य कारण पनि यही हो, जब बेलायत आएँ, तब आफ्नो देशको सम्झनामा केही गरौँ भन्ने लाग्यो । त्यसपछि फिल्म निर्माणलाई रोजेँ ।’

प्रवलले हालसम्म चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । यस्तै, दुई दर्र्जनभन्दा बढी नेपाली म्यजिक भिडियो समेत निर्देशन गरिसकेका छन् । बेलायत पुगेपछि पहिलोपटक ‘मोनिका’ नामक फिल्म बनाएका प्रवल भन्छन्, ‘जुन फिल्म युकेमै बस्दै आएका नेपालीहरुको कथामा आधारित थियो ।’ फिल्ममा एउटी महिला पात्रलाई विषयवस्तु बनाइएको छ ।

पहिलो प्रयासरुवरुप निर्माण भएको ‘मोनिका’ दर्शकले निकै रुचाए । त्यसपछि अझ हौसिएका उनले अर्को फिल्म बनाए, ‘कसुर’ । जुन प्रवलको दोस्रो फिल्म थियो । उक्त फिल्ममा पनि युकेमै बसोवास गर्दै आएका नेपालीहरुको अवस्थालाई पर्दामा उतारेका थिए । फिल्म ‘कसुर’सम्म आइपुग्दा प्रवलले एक फिल्मकर्मीको परिचय बनाउन सफल भए । जुन फिल्ममा तारा लामा र पुनम गुरुङ निर्माताका रुपमा रहेका छन् ।

त्यसपछि ‘युर्टन’ बनाए । जुन फिल्म प्रवलका लागिसमेत युर्टन बन्यो अर्थात एक कुसल निर्देशक तथा निर्माताका रुपमा उनी बेलायतदेखि नेपालसम्म चिनिए । फिल्म ‘युर्टन’ले नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको थियो । यो फिल्म नेपालमा अधिकांश सिनेमा हलमा लागेको थियो ।

प्रवल भन्छन्, ‘युर्टनलाई नेपालमा समेत रुचाए ।’ फिल्ममा चित्रण गरिएको कथाले धेरैको मन छोएको थियो । ‘नेपालीहरु विदेशमा बसेरमात्र हुँदैन, देश बनाउने हो भने आफ्नै देशका केही गर्नुपर्छ’, फिल्म ‘युर्टन’को सार थियो । उक्त फिल्म व्यवसायी रुपमा तार्गेट गरेका निर्माण गरिएको हो ।

प्रवलको अर्को महत्वपूर्ण उपलब्धी हो, ‘एटिन’ अर्थात (१८) । जुन फिल्म अहिले प्राइम एमेजोनमा रिलिज भइरहेको छ । हलिउड र बलिउड ब्लकबस्टर फिल्महरु रिलिज हुने गर्छ । यसअघि प्राइम एमेजोनमा केही नेपाली सुपर हिट फिल्महरु रिलिज भएका थिए । तर, विदेशमा निर्माण भएको नेपाली फिल्म भने ‘एटिन’ पहिलो हो ।

विदेशमा बनेको नेपाली फिल्मले समेत प्राइम एमेजोनमा हलिउड र बलिउड ब्लकबस्टर फिल्मको हाराहारीमा स्थान पाउनुलाई गर्वका रुपमा लिनुपर्ने निर्माता तथा निर्देशक प्रवल बताउँछन् । प्रवलले भने, ‘यो आम नेपाली फिल्मकर्मीका लागि खुसीको कुरा हो ।’ १८ वर्ष कटेपछि मात्र मानिस वैधानिक हुन्छ भन्ने सारलाई फिल्म ‘एटिन’मा उतारिएको छ ।

अबको लक्ष्य के हो ? प्रवल भन्छन्, ‘मैले धेरै विधामा फिल्म बनाएँ, अबको उद्देश्य भनेको नेपालको अनकन्टार गाउँवस्तीको कथालाई पर्दामा उतार्नु हो ।’ हाल त्यसैको रिसर्च गरिरहेको उनको भनाइ छ ।

विशेषगरी तामाङ कला, संस्कृति र रहन सहनलाई समेटेर नेपालको विकट वस्तीका नागरिकको कथालाई उतारेर अन्तर्राष्ट्रियस्तरमा फिल्म निर्माणको तयारीमा रहेको उनले आपनो योजना सुनाए । प्रवलले भने, ‘विदेशमा बसेर नेपालका लागि केही गर्न नसकेपनि कला, संस्कृतिलाई प्रवद्र्धन गरौँ भन्ने मेरो उद्देश्य हो ।’

प्रतिक्रिया