आज एमाले बैठक बस्दै : वार्ता र सहमतिको भ्रममा नर्पन माधव नेपालको अपील
अखबार टुडे
प्रकाशित:
२०७८, ८ भाद्र

काठमाडौं, ८ भदौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । ११ बजे बिहान ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माधव नेपाल समूहको प्रस्तावित नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए । एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका ९ जना स्थायी कमिटी सदस्यसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।

भ्रममा नपर्न पार्टी पंक्तिलाई अपिल

यसैबीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न पार्टी पंक्तिलाई अपिल गरेका छन् । पटक–पटकका बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्दै उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन आग्रह गरेका छन् ।

‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेपालले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया