काठमाडौं, ७ भदौ । नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउन तयार भएको छ ।
माधव नेपालको पक्षमा रहे पनि नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा उनलाई साथ दिइनसकेका ‘तेस्रो धार’का नेताहरू बालकोट पुगेका ओलीसँगको छलफलपछि पार्टी एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने नेता भट्टराईले बताए ।
१० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले जानकारी दिए ।
बैठक मंगलबार १० बजे बोलाइएको छ । बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने बताइएको छ । नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू सोमबार ओलिसँग वार्ता गर्न बालकोट पुगेका थिए ।