अध्यक्ष ओलीको टिप्पणी ‘माधवको पार्टी माथि फुकेको, तल सुकेको सोलीजस्तै’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ भाद्र

काठमाडौं, ६ भदौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली शर्माले नेता माधवकुमार नेपाल समूहको नयाँ पार्टीलाई ‘माथि फुकेको तल सुकेको’ सोली जस्तै हुने टिप्पणी गरेका छन् । कर्णालीका सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले माधव नेपालको पार्टी सोली प्रकारको राजनीति भएको र स्वार्थको राजनीति दिर्घकालीन नहुने बताए । उनले माधव नेपालले पिरामिड शैलीमा राजनीति गरेको भन्दै नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ता प्रक्रियामा लागेका नेपालको मतदातास्तरमा संयन्त्र नभएको दावी गरे ।

उनले भने, ‘पछिल्लो समय माधव नेपालको राजनीति पिरामिड शैलीमा गएको छ । गाउँस्तरका नेता तथा कार्यकर्ता कुनैले साथ दिएका छैनन् । तर, केन्द्रमा पुरै नेकपा एमाले पार्टी आफँैले थेगेजसरी कुर्लेर हिँडिरहेका छन् । माथि केन्द्रमा फुकेको, गाउँस्तर (मतदाता र कार्यकर्ता) स्तरमा सुकेको सोली प्रकारको राजनीति दीर्घकालनी हिसाबले टिक्न सक्दैन ।’

ओलीसँग प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नावराज महतारा, प्रेस चौतारी कर्णाली प्रदेश सह–इन्चार्ज एवं केन्द्रीय सदस्य विष्णु शर्मा, कर्णाली प्रदेशका पूर्वसंयोजक नरेश भण्डारीलगायतले भेट गरेका थिए ।

प्रतिक्रिया