काठमाडौं, ६ भदौ । इजरायल रोजगारीमा जान इच्छुक आवेदनहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गरिने जनाएको हो । इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने पनि मन्त्रालयले प्रस्ट पारेको छ ।
इजरायल रोजगारी सरकारबाट हाल सहायक कामदारका लागि १ हजार जनाको माग भई आएको र त्यस अनुसार वैदेशिक रोजगार विभागले आवेदन खुलाए पछि ९ हजार ६९९ जनाको आवेदन परेको जनाएको छ ।
मन्त्रालय र विभागका अधिकारीसँग आफ्नो सम्बन्ध भएको भन्दै प्रलोभनमा पारी गैर कानुनी रूपमा रकम असुल गरिरहेको गुनासो पनि आएको भन्दै यसतर्फ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । इजरायल रोजगारी सरकार सरकार माध्यममार्फत पठाइने भएकाले प्रलोभनमा पार्ने कसैको पनि पछि नलाग्न र विभागको आधिकारिक सूचनामा मात्र विश्वास गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।
इजरायलमा कामदार पठाउन नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोजमा श्रम सम्झौता भएको थियो । सम्झौता अनुसार विभागले एक हजार जनाको आवेदन मागेको थियो । वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको मिहिन अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदकहरू लिखित परीक्षामा सहभागी हुनेछ ।