आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : प्रधानमन्त्री जोन्सन
अखबार टुडे
प्रकाशित:
२०७८, ५ भाद्र

लन्डन, ५ भदौ (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् ।

उनले भने, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि छौँ ।

यदि अफगानिस्तानमा शान्तिको स्थापना हुन्छ, या यहाँको अवस्थामा सुधार आएर समस्या समाधान हुन्छ भने हामीले तालिबानी समूहसँग पनि मिलेर काम गर्न सक्छौँ ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फर्किन चाहने नागरिकको भीडभाड हट्दै गएको र तालिबानीले पनि यसमा सामान्यतया अवरोध नगरेको देखिएको उनले बताए । जसका कारण अफगानिस्तानको अवस्था विस्तारै सामान्य हँुदै गएको जस्तो देखिएको उनले बताए ।

तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए र गत अगस्त १५ राजधानी काबुल आएर सत्ता कब्जा गरेका छन् ।

हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन् । यसै क्रममा बेलायतले पनि गएको आइतबार यता कम्तीमा दुई हजार आफ्ना नागरिकलाई फिर्ता लगिसकेको जनाएको छ ।

प्रतिक्रिया