त्रिकोणात्मक क्रिकेट सिरिज : नेपाली टोली घोषणा, राष्ट्रिय टोलीमा पहिलोपटक गुल्सन
अखबार टुडे
प्रकाशित:
२०७८, ५ भाद्र

काठमाडौं, ५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

शनिबार घोषणा गरिएको टोलीमा गुल्सन झालाई पनि समेटिएको छ । उनी पहिलोपटक टोलीमा समेटिएका हुन् । नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको हो । बन्द प्रशिक्षणमा रहेका कमलसिंह ऐरी र साहब आलम टोलीमा राखिएको छैन ।

नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव रहनुभएको क्यानका सचिव अशोकनाथ प्याकु¥यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् । टोली आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ ।

प्रतिक्रिया