माधव र ठाकुर समूहलाई दल सनाखतका लागि आयोगले ९ भदौमा बोलायो
अखबार टुडे
प्रकाशित:
२०७८, ४ भाद्र

काठमाडौं, ४ भदौं । नेकपा एमालेबाट विभाजित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले स्वयंम अर्कै नयाँ नाम प्रस्ताव गरी शुक्रबार निवेदन दर्ता गराएको हो ।

यसअघि बुधबार माधव समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि दिएको निवेदनमा उल्लेखित दलको नाम परिवर्तन गर्न निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल दर्ताका लागि आयोगले यही भदौ ९ गते सनाखतका लागि दलका सदस्यलाई बोलाएको छ । दलका सांसद र कार्यसमिति सदस्यको सनाखतपछि आयोगको बस्ने बैठकले दल दर्तासम्बन्धी निर्णय सुनाउने छ ।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको अनुमान छ ।

गत फागुन २३ गते सर्वाेच्च अदालतबाट भएको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ऋषि कट्टेलको नेकपासँग नाम मिल्न गयो भनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो ।

यस्तै, महन्थ ठाकुरको अध्यक्षतामा गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सनाखतका लागि आयोगले यही भदौ ९ गते नै बोलाएको छ ।

प्रतिक्रिया