लण्डन, ४ भदौ । बेलायती सैनिक समान पेन्सनलगायतका माग राख्दै लण्डनमा १३ दिनदेखि आमरण अनशनमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूले बिहीबार अनशन तोडेका छन् ।
बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेलेअनशन तोडिएको हो ।
गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरूले राख्दै आएका मागमा भनेअनुरुप दुवै देशका सरकारबीच सहमति भएकाले अनशन तोडिएको बताए ।
माग सम्बोधन गर्ने कुरा व्यक्त गर्दै अनशनस्थल पुग्नुभएका बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टीका साथमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी थिए । उहाँ दुवैले अनशनरत अभियानकर्मीलाई जुस खुवाएर अनशन तोडाएका थिए ।
अनशन तोडेपछि राजदूत रेग्मीले गोर्खाका मुद्दामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको बताए । प्राविधिक संयन्त्रको सिफारिसकै आधारमा बेलायत, नेपाल र गोर्खासहितको वार्ताको सहमति बनेको उनले जानकारी दिए ।
उक्त सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाबीच प्रारम्भिक छलफल हुने र डिसेम्बरबाट वार्ता सुरु हुने प्रमुख संयोजक राईले जानकारी दिए ।