ओलीको आरोप, ‘माधव नेपाल पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित भए’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ भाद्र

काठमाडौं, ३ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको एक मात्र उद्देश्य पार्टी फुटाउने रहेको बताएका छन् । एमाले औपचारिक रुपमा विभाजनमा गएको भोलीपल्ट बिहीबार भक्तपुरमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा होस्, पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित भए ।’ उनले नेपालले लामो समय पार्टीको नेतृत्व गरेर अन्तमा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको टिप्पणी गरे । आफूले एकताका लागि बारम्बार प्रयास गर्दा समेत माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको अध्यक्ष ओलीको भनाइ थियो ।

माधव नेपालमाथि आरोपका चाङ लिएर प्रस्तुत भएका ओलीले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदाहुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप लगाए ।

उनले एमालेले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाउँदा माधवकुमार नेपालले विपक्षीसँग साँठगाँठ गरेर अर्को उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गरेको र एमालेकै नेतृत्वको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको बताए ।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइ पाउँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने । सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाउँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिपाउँ भनेर जाने । यसको कारण माधव नेपाल एमाले फुटाउन नलागेर के भन्ने ?’

ओलीले यसका बाबजुद पनि आफू पार्टी एकता कायम राख्नका लागि वार्ता समिति बनाएको बताए । सरकारले एमाले फुटाउनकै लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको उनको आरोप छ । उनले भने, ‘माधवकुमार नेपालसँग कति प्रतिशत सांसद र केन्द्रीय सदस्य छन् भन्ने हिसाब गरेर अध्यादेशमा पनि दल विभाजनका लागि सोही अनुसारको प्रतिशत उल्लेख गरियो ।’

माधवकुमार नेपालले पार्टी फुटाएर नयाँ दल दर्ता गर्न लागेको प्रति ओलीले टिप्पणी गर्दै भने, ‘पिलो निचोरियो भन्ठानेको खिल बाँकी नै रहने भयो ।’ नेपालपक्षका सबै सर्लक्क नजाँदा बाँकी रहनेले खिलको रुपमा दुःख दिने उनको भनाइ थियो ।

‘पार्टीमा चाहिने नचाहिने काम गर्ने, आफ्नै पार्टीको सरकारविरुद्ध लागेर विपक्षलाई सघाउने काम गरे । उनीहरु (नेपालपक्ष) सबै जान्छन् भन्ठानेको केही रहने भए’ ओलीको भनाइ उदृत् गर्दै ओलीपक्षका एक नेताले भने, ‘सबै पिलो निचोरियो भन्ठानेको अझै खिल बाँकी रहने भयो । कति दुःख दिने हुन् ।’

नेपालपक्षले छुट्टै पार्टी गठन गरेका विषयमा समेत ओलीले खुसी व्यक्त गरेको ती नेताले दाबी गरे । ओलीको चर्को विरोध गर्ने नेताहरुले नेपालले नयाँ पार्टी खोलेपछि साथ दिएका छैनन् । नेपालपक्षका स्थायी कमिटीमा नेपालसहित १३ जना भए पनि ९ जनाले विभाजनमा नलाग्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया