अफगानिस्तान रहेका १३४ जना नेपाली सम्पर्कमा : सरकारसँग उद्दार गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । अफगानिस्तान रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिए । उनले संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताए ।

संयुक्त राष्ट्रसंघलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गरेका छन् ।रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो ।

उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ ।

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया