अन्ततः एमाले विभाजनतिर : नेताहरु आन्तरिक छलफलमा जुटे
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । नेकपा एमाले अन्ततः विभाजनतिर अगाडि बढेको छ । एमाले फुटाउनकै लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि विभाजन निश्चित जस्तै भएको हो । पार्टी फुट्ने सम्भावना बढेपछि एमाले नेताहरुले आन्तरिक छलफल थालेका छन् ।

चालू संसद अधिवेशन अन्त्यसँगै एमाले फुटाउन देउवा नेतृत्वको सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको एमाले स्रोतको भनाइ छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलसहित नेताहरु ओली निवास बालकोट पुगेर सोमबा साँझ छलफल गरेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल पक्षबीच आन्तरिक टकराव चल्दै आएको छ । लामो समयदेखि पार्टी एकताको प्रयास गर्दै आएपनि निष्कर्षमा पुग्न नसक्दा आन्तरिक कलह झनै गहिरिएको हो ।

एमालेलाई फुटाउनका लागि सरकारले अध्यादेश ल्याउन लागेपछि १० बुँदे प्रस्तावका आधारमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बिषयमा छलफल भएको बालकोट स्रोतको दावी छ । नेपाल पक्षले सम्मान अधिकार सहित संयुक्त हस्ताक्षर हुने गरी पार्टी एकता गर्नुपर्ने अडानमा रहेको छ । तर नेपाल पक्षको सो प्रस्ताव ओली पक्षले अस्वीकार गर्दै आएको छ ।

नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारीमा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै नेपाललाई भेटेर सहज हुनेगरी अध्यादेश ल्याउने प्रतिवबद्धता व्यक्त गरिसकेका छन् ।
नेपाल पक्षले नयाँ दल गठन गर्ने अन्तिम तयारीमा पुगेपछि उपाध्यक्ष डा.भीम रावल र महासचिव पोखरेलबीच मंगलबार छलफल भएको थियो ।

पोखरेल निवास धापासीमा छलफल गर्दै नेताहरुलाई पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्षमा पुगेका थिए । एमाले एकताका लागि बनेको कार्यदल अध्यक्ष ओलीले एकतर्फी रुपमा खारेज गर्नु र अर्कोतिर ओलीले माधव नेपालबाहेक अन्य नेतालाई मात्र समेटेर एकता सम्भव छ भन्ने अभिव्यक्ति दिएपछि एकताको ढोका बन्द हुने अवस्था आएको नेपाल पक्षको आरोप छ ।

प्रतिक्रिया