अफगान संकट : रुसद्वारा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । अफगानिस्तानको राजधानी काबुल विद्रोही तालिबानले कब्जा गरेसँगै रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । अफगान संकटबारे अन्य देशहरुसँग छलफल गर्न बैठक बोलाउन माग गरेको रुसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विदेश मन्त्रालयका अधिकारी जमीर काबुलोभले रूसी समाचार एजेन्सीसँग कुरा गर्दै तत्कालै राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउनुपर्ने बताए । उनले भनेका छन्, ‘हामी अफगानिस्तानको अवस्थाबारे जानकारी लिन बैठक बोलाउने तयारी गरिरहेका छौँं ।’ जतिसक्दो बैठक बस्ने उनको भनाइ छ ।

आइतबार तालिबानले अफगानिस्तानको राजधानी कब्जामा लिएको छ । तालिबानले काबुल कब्जा गरेसँगै काबल विमानस्थलमा अफगानिस्तान छाड्नेहरुको भीड लागेको छ । देश छाड्न तँछाड मछाडको भीड नियन्त्रण गर्न सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । अहिले विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा रहेको र तत्कालका लागि सबै उडान स्थगित गरिएको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् ।

प्रतिक्रिया