काबुल, ३२ साउन । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ ।
राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । तालिबानका प्रवक्ताले अब अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन् । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।
हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए । तालिबानले अब युद्ध सकिएको र राष्ट्रपति घानी भागेका समेत बताएका छन् ।
तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।
तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।
राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ । अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन ।
उता देश छोडेका राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन् । उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन ।