अफगान राष्ट्रपति देश छाडेर ताजकिस्तान पुगे, सत्ता हस्तान्तरणबारे तालिबानसँग वार्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काठमाडौं, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । विद्रोही तालिबानले देशका प्रमुख सहर हुँदै राजधानी काबुल कब्जा गर्ने प्रयास गर्दैगर्दा आइतबार राष्ट्रपति घानी देश छाडेका हुन् ।

समाचार एजेन्सी सिन्ह्वाले स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेको जनाएको छ । टोलो न्युजका अनुसार राष्ट्रपति घानी र उनका सहयोगीले आइतबार मध्यान्हतिर अफगानिस्तान छाडेर ताजकिस्तान पुगेका छन् ।

यसअघि कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपति घानीले देशको संकट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको बताएका थिए । तर, विद्रोही तालिबानले राजधानी काबुल आफ्नो कब्जामा लिँदै गर्दा घानी अफगानिस्तान छाडेर ताजकिस्तान पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीमा उल्लेख छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेको थियो ।

यसैबीच तालिबानले जबरजस्त नगरी सत्ता लिने बताएको छ । आइतबार साँझ तालिबानले शान्तिपूर्ण रुपमा सत्ता लिने बताएपछि अहिले सरकार र तालिबाजबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि नै त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए ।

प्रतिक्रिया