अफगान संकट : अफगानिस्तानमा करिब १५०० नेपाली, तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काठमाडौं, ३१ साउन । अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाउँदै गएको छ । जसका कारण त्यहाँ रहेका नेपालीहरु समेत असुरक्षित बनेका छन् । आइतबार प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यसबारे सरकारलाई ध्यानाकर्षण गरेको छ ।

तालिबानले अफगानिस्तानको अधिकांश मुख्य सहर कब्जा गरेपछि राजधानी काबुल केन्द्रीत आक्रमण सुरु गरेको छ । त्यसैले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले तालिवान विद्रोहीहरु राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा परराष्ट्र मन्त्रालका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालिरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीर रुपमा प्रयास गरिरहेको बताए ।

उनले भने, ‘अफगानिस्तानको स्थिति जटिल हुँदै गएको छ, त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ताप्रति सरकार चिन्तित छ, सुरक्षित रुपमा उद्धारका लागि मन्त्रालयले चासो र चिन्तकासाथ काम गरिरहेको छ, विभिन्न प्रयास भइरहेको छ ।’

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा अफगानिस्तानका नेपालीको उद्धारका लागि प्रयास भइरहेको उनले बताए । श्रम स्वीकृत लिएर संगठित तथा औपचारिक रुपमा त्यहाँ गएर बसेका नेपाली एक हजार ५०० को हाराहारीमा रहेको आँकलन गरिएको सो अवसरमा जानकारी दिइएको छ ।

अफगानिस्तानमा विदेशी सहायता परियोजना तथा विदेशी नियोगमा आकर्षक तलब सुविधाका कारण दक्ष कामदार जाने हुनाले त्यहाँ रहेका नेपालीको सङ्ख्या बाहिर सञ्चारमध्यममा आएजस्तो नभएको पनि सचिव पौड्याले स्पष्ट पारे ।

बैठकमा सभापति पवित्रा खरेल निरौलाले रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली नागरिक त्यहाँ भएको द्वन्द्वबाट असहज स्थितिमा रहनुपरेकाले तत्कालै योजना बनाएर स्वदेश ल्याउने कार्यमा विलम्ब गर्न नहुने सुझाव दिएकी छन् ।

विदेशमा रहेका नेपालीको हकहित र अधिकारको सुरक्षामा परराष्ट्र मन्त्रालय तथा विदेशस्थित कूटनीतिक नियोगले काम गर्नुपर्ने हुँदा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अनिवार्य र नियमितरुपमा त्यससम्बन्धी तथ्य तथ्याङ्क उपलब्ध गराउन निर्देश गरेको छ ।

यसअघि बैठकमा सांसदले रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई नेपाल वायुसेवा निगमको जहाज तत्कालै चार्टर गरेर ल्याउन सुझाव दिएका थिए । उनीहरुले कुनै पनि नेपाली नागरिकलाई स्वदेश आउन नपाएर त्यहीँ अप्ठ्यारोमा पर्न नदिन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित गर्ने सूचना जारी गर्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराएका छन् ।

यो समाचार तयार पारिरहँदा अफगानिस्तानका तालिवान लडाकुहरू राजधानी काबुल पस्न थालेका अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयले बताएको छ ।

एक वरिष्ठ अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएअनुसार तालीवानहरु सबै दिशाबाट काबुल पस्न थालेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन । अफगानिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको केही घन्टामै तालिवानहरु काबुल पसेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आइतबार बिहानमात्रै तालीवानहरुले पूर्वी सहर जलालावादलाई नियन्त्रणमा लिएका थिए । अफगान राष्ट्रपतिको कार्यालयको ट्वीटअनुसार काबुलका विभिन्न स्थानमा ‘फायरिङ भएको सुनिएको’ छ । तर, आइतबार दिउँसोसम्म काबुल सरकारनै नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया