माओवादी केन्द्रीय समिति बैठक : एमसीसीबारे स्पष्ट पार्टीको धारणा माग
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठक आजै समापन गरिँदैछ । शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राखेका छन् ।
प्रस्तुत दुई प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठअनुसार टोली नेतामा प्रदेश नं १ बाट राम कार्की, प्रदेश नं २ बाट रामचन्द्र झा, वाग्मती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश तथा प्रवासबाट युवराज चौलागाईंले अध्यक्ष दाहालका दुई प्रस्तावमाथि समूहगत रिपोटिङ गरेका छन् ।

समूहगत रिपोटिङ गर्दै उनीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात् गर्न माग गर्नुभएको थियो । यस्तै, बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसिका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिइएको थियो ।
सरकार सञ्चालनको संयन्त्र बनाउन तथा जनयुद्धका क्रममा शहिद भएकालाई राष्ट्रिय शहिद घोषणा गर्न माग गरिएको बताइएको छ ।

यस्तै, पार्टीको जिल्ला समितिलाई समन्वय समिति बनाउन तथा प्रदेश समितिलाई कार्यकारी बनाउने विषयमा समेत केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।

प्रतिक्रिया