सबै क्षेत्रबाट काबुल प्रवेश गर्न थाले तालिबान समूह
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काबुल, ३१ साउन (एजेन्सी) । मुस्लिम अतिवादी विद्रोही समूह तालिबान अफगानिस्तानकोे राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।

उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन् ।

काबुल पस्नुअघि तालिबानहरूले आजै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन् । पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन् । अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेका छन् ।

यसैबीच आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानले आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन् । शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको भनाइ छ । साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानको विज्ञप्तिमा उल्लेछ ।

प्रतिक्रिया