
काठमाडौं, ३० साउन । अब नेपाली कांग्र्रेसको १४औँ महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन मिति तोकिएको थियो । तर, क्रियाशील सदस्यता वितरणलगायतका विषयमा मतभेद भएपछि निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को मिति तोकेको हो ।
निर्धारित समयमा हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन बिहीबारयता लगातार छलफल हुँदै आएको थियो । तर, बैठकमा नयाँ कार्यतालिका पेश हुन नसक्दा निर्णय हुन सकेको थिए । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुको राय अनुसार महाधिवेशनको नयाँ कार्यतालिका ल्याइएको बताइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै, २ भदौमै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसले जनाएको छ ।
यस्तै, वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।