अहिले बाहिरबाट हेर्दा मिलेको पार्टी माओवादी नै हो : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ३० श्रावण
  • अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचन आउँदा माओवादी देशको प्रमुख शक्ति बन्नेछ ।’ माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको बताउँदै उनले अब राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गरिने बताए ।

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आगामी चुनावसम्ममा माओवादी प्रमुख शक्ति बन्ने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

पार्टीको वर्तमान अवस्थाबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचन आउँदा माओवादी देशको प्रमुख शक्ति बन्नेछ ।’ माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको बताउँदै उनले अब राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गरिने बताए ।

अध्यक्ष प्रचण्डले अहिले पार्टीको संगठन अस्तव्यस्त भएको भन्दै यसलाई माओवादी नेतृत्वले आफ्नो हातमा लिएर संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताउँदै भने, ‘संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको हो । गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् ।’

उनले अहिलेको अवस्थालाई संगठनमा रुपान्तरण गरिनुपर्ने आवश्यकता समेत औँल्याए । संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताउँदै उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रोविरुद्ध प्रयोग गर्न खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौँ ।’

अध्यक्ष प्रचण्डले ढुक्क भएर नबस्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन । परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन्’ उनले भने, ‘हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ । प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन ।’

अध्यक्ष प्रचण्डले अरु दलहरुभन्दा माओवादी पार्टीमा कम समस्या रहेको र वैचारिक रुपमा एकतावद्ध रहेको बताए । ‘हाम्रो पार्टीमा निर्णय गरिसकेपछि नमान्ने भन्ने छैन । हिजो गठबन्धनका नेताहरुको बैठकमा पनि कुरा चल्यो’ उनले भने, ‘बाहिरबाट अहिले हेर्दा सबैभन्दा मिलेको पार्टी माओवादी नै हो ।’

प्रतिक्रिया