नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने, खोप बालबालिकालाई पनि दिन मिल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडौं, २९ साउन । नेपालले मोडर्नाको ४० लाख कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ ।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि ‘गाभी’सँग सम्झौता भएको छ । यससँगै नेपाल कोभ्याक्ससँग लागत–साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।
१२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने अपेक्षा गरिएको छ ।
नेपालका लागि सुरक्षित र प्रभावकारी खोप ल्याउनका लागि सम्झौता तय गर्न सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
नेपालको आपत्कालीन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न खोपले सहयोग पु¥याउने माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विश्वास व्यक्त गरेका छन् ।
महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराइसकेको छ । जसअन्तर्गत कोरोनाविरुद्धको खोपको खरिद र विस्तारका लागि ६७ दशमलव ५ मिलियन डलर विनियोजन गरिएको छ ।
विश्व बैंकले खोप खरिद तथा वितरणका लागि ५० भन्दा बढी कम तथा मध्यम आय भएका देशलाई सघाइरहेको छ ।

प्रतिक्रिया