सर्वोच्चको अन्तरिम आदेश, ‘ज्येष्ठ नागरिकलाई घर-घरमा गएर कोभिडविरुद्धको खोप दिनु’
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण


काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई घर–घरमा गएर कोभिडविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाले यस्तो आदेश गरेका हुन् । प्रवेश केसीले दायर गरको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।

खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेशमा भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको सो रिट निवदेनको सुनुवाइ आदेशमा भनिएको छ, ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनू ।’

प्रतिक्रिया