अफताब आलमको मुद्दामाथि आज सुनुवाई हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडौं, २९ साउन । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामाथि आज सुनुवाई हुँदैछ । इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोगमा आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाइका लागि तोकिएको छ । यसअघि पटक–पटक सो मुद्दा सुनवाईमा चढेको थियो । अदालतले कैफियत प्रतिवेदन माग्नेबाहेक अरु आदेश भएको थिएन ।
२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारको जोहरीपछि तत्कालीन ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

प्रतिक्रिया